यु-१९ महिला टि-२० विश्वकप : नेपालले कुवेतलाई १६५ रनले हरायो

1.94K
shares

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको  फराकिलो अन्तरले हराएको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा मंगलबार नेपालले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रन मात्रै बनायो ।

कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । उनले ४२ बलमा ७ चौका प्रहार गर्दै ३६ रन बनाएकी हुन् । जिफाबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यस्तै, आयशा इकबाल पेवेकरले ४ र ईशान्वी मोहन सिंहले एक रन बनाइन् । अन्य खेलाडीले एक पनि जोड्न सकेनन् ।

कुवेतका लागि क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, अमिषा राम ओलाचेरी, पर्ल सेरेना साइमन, साराह जसवी, जिनिया अफरोज, खादिजा जाहिर हुसेन र खादिजा खालिद अहमद कादरीले एक रन पनि जोड्न नसकेका हुन् ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन् । त्यस्तै, रचना कुमारी चौधरी र सीमा केसीले समान दुई/दुई विकेट लिए ।