खेलकुद मन्त्री चौधरी भन्छन् – ‘मन्त्रालय चलाउन सकस पर्यो’
वि.सं.२०८१ मंसिर १६ आइतवार १५:२६
shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरू सहज तरिकाबाट अगाडि बढ्न गाह्रो भएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगति नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए ।
उनले भने, ‘मन्त्रालयका काम र कार्यक्रमहरू सहज तरिकाबाट अगाडि बढ्न गा¥हो छ । अघिल्लो वर्षको बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगति छैन । पुँजीगत हेर्ने हो भने अघिल्लो वर्षको धेरै कम पुँजीगत खर्च भएको छ ।’
यस्तै, उनले यस वर्ष पनि बजेट तीन अर्ब ५० करोड मात्र आएको भन्दै त्यही बजेटबाट कामहरू अगाडि बढेको बताए ।
उनले भने, ‘यस वर्षको बजेट हेर्ने हो भने तीन अर्ब ५० करोड मात्र छ । त्यस मध्ये पुँजीगत बजेट धेरैमा डेढ अर्ब छ । यसमा ६० करोड रुपैयाँ दशौँ राष्ट्रिय खेलकुद कर्णाली, पाँच करोड पारा खेलको लागि, ५० करोड रुपैयाँ मूल पानीको राष्ट्रिय गौरवको योजनाका लागि, २० करोड कीर्तिपुर रङ्गशाला बनाउनका लागि, अरू साना साना बजेट छन् ।’
बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल भएको थियो भने मन्त्रीलगायत मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्को पनि उपस्थिति रहेको थियो ।











