एनपिएलमा विराटनगरको पहिलो जित, लुम्बिनी २ विकेटले पराजित

819
shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्ग्सले पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारको दोस्रो खेलमा विराटनगरले लुम्बिनीलाई २ विकेट हराएको हो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो ।

लुम्बिनी लायन्सले जितको लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।

विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा छ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले ९ रनको योगदान दिए ।

विराटनगरको लागि प्रतिश जिसीले ६, राजेश पुलामीले ४ र सन्दीप लामिछानेले एक रन जोड्दा निकोलस किर्टन भने शुन्य मै आउट भए ।

विराटनगरले अतिरिक्त २० रन प्राप्त गर्यो ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए । यस्तै, रामोन सिमन्ड्स र साद बिन जफरले समान दुई÷ दुई विकेट हात पार्दा विवेक यादवले एक विकेट हात पारे ।