विष्णुमती करिडोर ट्रयाक खन्ने काम सुरु, मन्त्री पौडेलले गरे शिलान्यास

910
shares

काठमाडौं । काठमाडौं–५ को बुढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमती करिडोरको ट्रयाक खोल्ने कार्य सुरु भएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे ।

हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी सुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए ।

‘करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ ।’

बुढानीलकण्ठ क्षेत्रमा सडक डिभिजन विभागबाट सडक विस्तार हुनेछ । यसै गरी टोखा नगर क्षेत्रको करिडोरमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सडक विस्तारको काम सुरु भएको छ ।

हाल बुढानीलकण्ठको धनेश्वर धन्ने ढिकुरो क्षेत्रबाट सुरु करिडोरको ट्रयाक स्कोन मन्दिरसम्म पुर्‍याउने लक्ष्य छ । क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर सफल पार्नेसमेत मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा मन्त्री पौडेलले सांसदका रूपमा आफू निर्वाचित भएमा करिडोरको काम अघि बढाउने घोषणा गरेका थिए ।

शिलान्यास कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारी तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसमेत सहभागी थिए ।

उनीहरूले विकास निर्माणका लागि तीन वटै तहबीच समन्वय र सहभागिता रहने भन्दै मन्त्री पौडेलसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।

बुढानीलकण्ठ ४ का वडाध्यक्ष श्रीराम केसीले बुढानीलकण्ठ र टोखा दुवैतर्फ बाटो खुलाउन सांसद एवं स्वास्थ्य मन्त्री पौडेलले सहयोग गरेको बताए ।

करिडोर खन्ने चर्चा लामो समयदेखि भए पनि सुरु हुन सकेको थिएन । करिडोरको काम सम्पन्न भएमा दुवै तहको विकास र यातायातमा निकै सहजता पुग्ने वडाध्यक्ष केसीले बताए ।