माओवादीको निष्कर्ष- अध्यादेशबाट देशलाई चलाएर एमाले कांग्रेसले तानाशाही प्रवृत्ति देखाउँदैछन्
वि.सं.२०८१ पुस २३ मंगलवार १८:४१
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजाने निरङ्कुश प्रवृत्ति सरकारले देखाएको निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको प्रवृत्तिको विरोध गर्दै तत्काल संघीय संसद् र प्रदेशसभाहरूको अधिवेशन आह्वान गर्न सरकारसँग माग समेत गरेको छ ।
बैठकले विभिन्न निकायमा भएको राजनीतिक हस्तक्षेपको विरोध गर्दै स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न माग गरेको छ भने शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न समेत माग गरेको छ । त्यस्तै बैठकले सहकारी प्रकरणमा गठबन्धन निकट व्यक्तिहरूलाई संरक्षण गर्ने पूर्वाग्रहपूर्ण र भेदभावपूर्ण काम गरेको भन्दै निष्पक्ष छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेको छ ।
बैठकले अबको पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै वैशाख महिनाभरि मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले जनताको अधिकार बढाउनका लागि संविधान संशोधन गर्नुपर्नेमा बैठकले जोड दिएको बताए ।
बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको बैठकको समापनका क्रममा अध्यक्ष प्रचण्डले बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको स्पष्ट गरे ।
उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्य विभाजन गर्दा उहाँको पनि गरिने जानकारी गराएका थिए ।











