सबै प्रदेशमा आपतकालिन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
वि.सं.२०८१ माघ २ बुधवार १७:१८
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित २७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मीहरू तयार भएको जानकारी दिदैं सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरूको व्यवस्थित परिचालन गर्न आवश्यक व्यवस्था गरिएको बताएका हुन् ।
उनले विपद्को समयमा अत्यावश्यक सामाग्रीहरूको भण्डारणलाई प्रभावकारी बनाउन आपत्कालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तरण गर्ने तयारी भइरहेको बताए ।
‘आगामी दिनहरूमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लगिनेछ ।’ गृहमन्त्री लेखकले भने ‘सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्था लगायत समुदाय स्तरमा पुर्वतयारी, प्रतिकार्य र पुर्ननिर्माण क्षमता अभिवृद्धि गर्ने कार्य गरिनेछ ।’ सचेतना बढाउन परम्परागतसंगै नयाँ प्रविधिहरुलाई अधिकतम प्रयोग गरिने उनको भनाई थियो ।
जाजरकोट लगायतका भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन रु ५० हजार सहयोग गर्ने अस्थायी निर्माण सम्बन्धी मापदण्ड मन्त्रीपरिषद्बाट स्वीकृत भई लागू भइसकेको मन्त्री लेखकले जानकारी दिए ।
‘स्थायी आवास निर्माण सम्बन्धी कार्यविधि समितिको बैठकबाट पारित भइसकेको छ ।’ उनले भने, ‘जाजरकोट भूकम्पबाट भएको क्षतिको आकलन यसै महिनाबाट प्रारम्भ गरिनेछ ।’











