पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का,आज पनि छलफल हुँदै, के के छन् छलफलका योजेण्डा
वि.सं.२०८२ भदौ २७ शुक्रवार ०८:४९
shares

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।
सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुन लागेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ । जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए ।
छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् । राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए ।
कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएको स्रोतले बतायो । स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।
दुई दिनसम्म भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग भने नेपाली सेनाले जंगीअड्डामा छलफल गरेका थिए । त्यसपछि उनीहरूले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए ।
कार्कीले समेत जिम्मेवारी लिन आफू सकारात्मक रहेको प्रतिक्रिया दिइसकेकी छन् । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत उनको पटकपटक वार्ता भइसकेको छ ।
राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिबारे बिहीबार बेलुकी संविधानविद्हरुसँग समेत छलफल गरेका थिए । त्यसक्रममा उनीहरुले संविधानको फ्रेमभित्र रहेर कसरी अघि बढ्न सकिन्छ भन्ने सुझावहरु दिएका थिए ।
भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला केपी ओली नेतृत्वको सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जालमा बन्द गराएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका जेनजीले स्वतस्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ । मृतकमध्ये नेपाली प्रहरीका समेत छन् ।
मंगलबार प्रशासनको कफ्र्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए ।
पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भएको थियो । यसपछि जेनजीसँग वार्ता गर्न नेपाली सेनाले समेत अग्रसरता लिएको थियो । सेनाको सहजिकरणमा जेनजीको मागहरुबारे एकमत बनाउने प्रयास भएको थियो ।
यसकारण भयो बानेश्वरमा ठुलो हताहती, सरकारको असक्षमताको मारमा प्रहरी
संसद् भवनको सुरक्षार्थ खटिएको कमान्डो टोलीसँग घातक हतियार मात्र हुन्छ । महत्वपूर्ण भवनको सुरक्षा नै उनीहरूको मुख्य जिम्मेवारी हो, भवन जोगाउन नसक्ने अवस्था आएमा गोली चलाउने आदेश हुन्छ, त्यहीअनुसार उनीहरूले फायरिङ गरेको बुझिएको छ ।
जेन–जीले गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सोमबार प्रहरीले घातक हतियार प्रयोग गरेको खुलेको छ । बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरीले घातक हतियार (एसएलआर)बाट गोली चलाउँदा ठुलो मानवीय क्षति भएको हो । जहाँ १७ जनाको मृत्यु भएको थियो भने सयभन्दा धेरै घाइते भएका थिए ।
आन्दोलनकारी संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि त्यहाँको सुरक्षामा खटिएका कमान्डो तालिम गरेको प्रहरी टोलीले गोली चलाएको हो । प्रहरी स्रोतका अनुसार उनीहरूले एसएलआरबाट समेत गोली प्रहार गरेका थिए । घातक हतियारबाट गोली प्रहार भएकाले कतिपय विद्यार्थी सडकमै ढलेको भिडियोहरूमा देखिन्छ ।
‘त्यहाँ खटिएको कमान्डो टोलीसँग घातक हतियार मात्र हुन्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘महत्वपूर्ण भवनको सुरक्षा नै उनीहरूको मुख्य जिम्मेवारी हो, भवन जोगाउन नसक्ने अवस्था आएमा गोली चलाउने आदेश हुन्छ, त्यहीअनुसार उनीहरूले फायरिङ गरेको बुझिएको छ ।’ सुरुमा प्रहरी भिड नियन्त्रणमा चुक्दा उनीहरूले संसद् भवन घेरा हालेका थिए । त्यसपछि अवस्था प्रहरी नियन्त्रणबाहिर पुगेको थियो ।
भिड नियन्त्रणका लागि आवश्यक स्रोत–साधन नहुँदा पनि यसरी एकैपटक घातक हतियारबाट गोली चलाउनुपरेको प्रहरी अधिकारीको दुःखेसो छ । सो दिन प्रहरीले अश्रुग्यास तथा रबरको गोली पनि चलाएको थियो । तर, त्यससम्बन्धी सामग्री पर्याप्त नहुँदा भिड नियन्त्रण गर्न सकेन । जसरी पनि संसद् भवन जोगाउन प्रहरीलाई गृह मन्त्रालयको निर्देशन थियो । सोही कारण प्रहरीले घातक हतियारबाट समेत गोली चलाएको हो ।
सुशासन माग्न गएका कलिला युवामाथि यसरी गोली चलाएको भन्दै मंगलबार देशभर सर्वसाधारण आन्दोलनमा उत्रिए । उनीहरूले सार्वजनिक सम्पत्तिमा सबैभन्दा धेरै प्रहरी कार्यालयलाई निसाना बनाएका छन् । आन्दोलनकारीमाथि गोली हानेको प्रतिशोधमा यसरी प्रहरी कार्यालय निसानामा परेका थिए । सरकारको असक्षमताको मारमा आफूहरू परेको प्रहरी अधिकारी बताउँछन् । घटनापछि कतिपय प्रहरी अझै ड्युटीमा फर्कन डराइरहेका छन् ।
‘राज्यले प्रहरीलाई बलियो बनाउनतर्फ कहिल्यै ध्यान दिएन,’ एक पूर्वप्रहरी प्रमुख भन्छन्, ‘कतिसम्म भने भिड नियन्त्रणका सामान खरिदका लागि पनि हरेक वर्ष हारगुहार गर्नुपर्ने अवस्था छ, अहिलेको यो घटना त्यसैको परिणाम पनि हो,’ बिचौलियाको चलखेलका कारण पनि प्रहरीको भिड नियन्त्रण तथा हतियार खरिद सधैँ विवादित बनेर रद्द हुने गरेको छ ।
यो घटनापछि प्रहरी इतिहासकै कठिन मोडमा छ । एकातर्फ प्रहरीको मनोबल निकै खस्किएको छ । कतिपय प्रहरी जागिरमै फर्कन सकेका छैनन्, अर्काेतर्फ प्रहरी कार्यालय ध्वस्त भएकाले बस्ने ठाउँसमेत छैन भने स्रोतसाधन शून्यको अवस्थामा छ । ‘सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीको मनोबल यसरी खस्किएको थिएन,’ एक प्रहरी अधिकारी भन्छन्, ‘राज्यका सबै निकायबाट सहयोग भएन भने प्रहरीलाई माथि उठाउन धेरै गाह्रो छ ।’ मंगलबार प्रहरी कार्यालय मात्र होइन, कतिपय प्रहरीका व्यक्तिगत घरसमेत जलाइएका छन् ।
जलेको मन लिएर जलेका भवनमा फर्किँदै प्रहरी
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म तीन प्रहरीले ज्यान गुमाएका छन् । कति प्रहरी कर्मचारी घाइते भए भन्ने विवरणसमेत प्रहरी प्रधान कार्यालयले संकलन गर्न सकेको छैन । किनकि अझै कतिपय प्रहरी सम्पर्कमा आएका छैनन् ।
प्रहरीका सयौँ कार्यालयमा आगजनी र तोडफोड भएका छन् । गाडीहरू पनि दर्जनौँ जलाइएका छन् । हतियार, सञ्चार सेट र पोसाकसमेत लुटिएका छन् । यस्तो अवस्था प्रहरी काम गर्न नसक्ने अवस्थामा छ । यद्यपि, अधिकांश प्रहरी भने नागरिकको सुरक्षामा फर्किसकेका छन् ।
प्रहरी प्रवक्ता विनोद घिमिरे स्थानीयकै साथ र सहयोगमा प्रहरीहरू नियमित काममा फर्कन थालेको बताउँछन् । कतिपय स्थानमा सर्वसाधारणले नै प्रहरी कार्यालय सरसफाइ गरी मर्मत थालेका छन् । ललितपुरमा कतै प्रहरीलाई स्थानीयले ट्र्याकसुट सहयोग गरेका छन् भने कतै फूल र खादा दिएर कार्यालयमा स्वागत गरेका छन् । भक्तपुरको एक बिटको सर्वसाधारणले मर्मत थालेका छन् । अन्यत्र पनि स्थानीयकै सहयोगमा प्रहरीहरू पुनस्र्थापनको प्रयासमा छन् ।
साहसका साथ कठिन आइजिपीको निर्देशन
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका लागि शान्ति सुरक्षाका लागि जुट्न निर्देशन दिएका छन् । बिहीबार भिडियो सन्देश जारी गरी उनले कठिन समयमै मानिसको पहिचान हुने भएकाले शान्ति सुरक्षामा खटिन निर्देशन दिएका हुन् ।
‘नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र हाम्रो समर्पण राष्ट्र र आमनागरिकको सेवा र सुरक्षा नै हो । यो जिम्मेवारी ज्यादै महत्वपूर्ण र संवेदनशील पनि छ । मानिसको पहिचान कठिन समयमै हुन्छ, यो कठिन समयमा हामीबाट प्रदर्शित व्यावसायिक निष्ठा र कर्तव्य परायणताले आमनागरिकमा शान्त र सुरक्षित तवरबाट जीवनयापन गर्न पाउने अवस्था र आफ्नो पेसा–व्यवसायमा फर्कन पाउने सुनिश्चितता सिर्जना हुनेछ भन्ने कुरामा हामी जानकार छौँ,’ उनले भनेका छन्,
सबैलाई जिम्मेवार बन्न पूर्वसुरक्षा प्रमुखहरूको अनुरोध
पूर्वसुरक्षाकर्मीहरूले कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहितका अधिकारीले संयुक्त प्रेस वक्तव्य जारी गरी इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् ।
राज्यका कामकारबाहीविरुद्ध उठेका आवाज सबै गलत छन् भन्ने सोच र सरकारी स्थायी संयन्त्रहरूले पनि अन्धभक्त भएर त्यसलाई अनुशरण गरिरहँदा गुम्सिन गएको जनआक्रोशले एकाएक विस्फोटक परिस्थिति सिर्जना गर्दाेरहेछ भन्ने यथार्थलाई पनि सबैले मनन गर्नुपर्ने महत्वपूर्ण पाठलाई भविष्यमा नबिर्सिन उनीहरूले आग्रह गरेका छन् ।











