‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय भेला

52
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका निम्ति ‘देश र कांग्रेस जोड्ने अभियान’को घोषणा गरेका छन् । आइतबार (साउन १७) काठमाडौंमा देश र कांग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले यही साउन २० गते राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए ।

पार्टी विभाजनको सँघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको उनले उल्लेख गरे । उनले पार्टीलाई एकजुट बनाउन दबाबमूलक कार्यक्रम सुरु गरिएको बताए । देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्ष दल आफैँभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो ।

“राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको सन्दर्भलाई आत्मसात् गर्दै हामीले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छौँ,” उनले भने, “हामी विश्वास गर्छौं कि विश्वासिलो र एकताबद्ध नेपाली कांग्रेसले मात्रै जनताको विश्वास पुनः जित्न सक्छ, लोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अगाडि बढाउन सक्छ ।”

महरले सुनसरीबाट सुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे । हिंसामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको शीघ्र उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

साउन २० गते काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ बजेदेखि राष्ट्रिय भेला हुने उनले जानकारी दिए । उक्त भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेश निर्वाचन क्षेत्र र १६५ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि एवं विभिन्न प्रबुद्ध वर्गसहित करिब दुई हजारजनाको सहभागिता रहने जनाइएको छ ।

अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई कांग्रेसलाई जनतासँग जोड्नु रहेको उनले प्रस्ट पारे । “…भेलाको उद्देश्य कसैप्रति पूर्वाग्रही हुनु होइन, देश र कांग्रेसलाई जोड्नु हो,” उनले भने, “देशभित्र साम्प्रदायिकतालगायत विभिन्न समस्या उत्पन्न गराउने उद्देश्यले देशी तथा विदेशी शक्तिहरूको चलखेल भइरहेको हाम्रो बुझाइ छ । यस्ता चुनौतीप्रति सचेत रहँदै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र नेपाली कांग्रेसको सुदृढीकरणका लागि यो अभियान अघि बढाइएको हो ।”

पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समितिजस्ता महत्त्वपूर्ण निकायमा सबै समूहको सर्वसम्मत प्रतिनिधित्व हुनुपर्ने माग अभियानले अघि सारेको छ ।

नेता महरले कांग्रेस सभापति र पदाधिकारीहरूलाई व्यक्तिगत अहम् त्यागेर पार्टी मिलाउन आग्रह गरे । उनले पार्टीलाई जीवन्त राख्न आफूहरू केन्द्रीय सदस्यको पदत्याग गर्न समेत तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा रञ्जित कर्णलगायत नेताको पनि उपस्थिति थियो । अभियानले साउन २० को भेलापश्चात् देशभर हस्ताक्षर संकलन र अरू दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

‘कांग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने संकल्पका साथ यो अभियान अघि बढाइएको महरले बताए ।