पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप
वि.सं.२०८१ पुस २१ आइतवार १६:०२
shares

पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरूले भेट्न इन्कार गरेका छन् ।
नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा व्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवं हालका सूर्य दर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् ।
महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्य दर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् । सहकारी सम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।
यता, रवि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरूसँग नेपाली कांग्रेस कास्कीको अगाडी सहकारी पीडितहरूको केहीबेर हात हालाहाल भएको थियो ।









