पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले आज पनि नाराबाजी गरे
वि.सं.२०८१ पुस २४ बुधवार १९:५३
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहदिचोकस्थित शहदि पार्कभित्रबाट नाराबाजी गरेका छन् ।
पार्टी सभापति रबी लामिछानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहिदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरूले लामिछानेलाई मङ्गलवार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो ।
निषेधित क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार सञ्चारकर्मी, कानून व्यवसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिवार्य गरिएको थियो । यद्यपि निषेधित क्षेत्र भित्र नै पर्ने सहिद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले रवि लामिछानेलाई प्रहरी हिरासतमा फर्काउँदै गर्दा नाराबाजी गरेका थिए । त्यसअघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई पार्कभित्रबाट हटाउने प्रयास गरेको थियो तर रास्वपाका नेता तथा कार्यकर्ताहरूले विरोध गरेका थिए ।
यसैबीच प्राप्त जानकारी अनुसार, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । अन्य प्रतिवादीहरुको थुनछेक बहस सकिएको र बहिबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछि बहिबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने धेरैले अनुमान गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले बिहीबार साँझसम्म आफ्नो पार्टी सभापति हिरासतमुक्त हुने दाबी गरे ।











