इजरायललाई टर्कीले पनि दियो चुनौती, टर्कीका राष्ट्रपति एर्दोआनले नेतान्याहूको तुलना हिटलरसँग गरे

  • टर्कीका राष्ट्रपति रिसेप ताय्येप एर्दोआनले इजरायलभित्र पस्ने चेतावनी दिएका छन् । बीबीसीका अनुसार, विगतमा लिबिया र अजरबैजानको नार्गोनो–काराबाखमा पसेजसरी इजरायलमा पस्न सक्ने उनको चेतावनी छ ।

    यद्यपि, उनले कस्तो खालको हस्तक्षेपको कुरा गर्न खोजका हुन् भनेर प्रस्ट्याएका छैनन् । इजरायलले गाजामा गरेको आक्रमणमा आम नागरिक मारिएकोमा एर्दोआनले आलोचना गर्दै आएका छन् । उनले हालै आफ्नो देशको रक्षा क्षेत्रको तारिफ गर्ने क्रममा इजरायलभित्र पस्ने अभिव्यक्ति दिएका हुन् ।

    उनले भने, ‘हामीले निकै बलियो रहनुपर्छ ताकि इजरायलले प्यालेस्टाइनमा घटिया हर्कत गर्न नसकोस् । हामी जसरी काराबाखमा पस्यौँ, जसरी लिबियामा पस्यौँ, इजरायलको हकमा यस्तै गर्न सक्छौँ ।’

    एर्दोआनको यो अभिव्यक्तिमा इजरायली विदेशमन्त्री इजरायल काट्जले सद्दाम हुसेन र एर्दोआनको तस्वीर शेयर गर्दै सोसल मिडियामा लेखेका छन्, ‘एर्दोआन सद्दाम हुसेनको पाइलामा हिँडिरहेका छन् । उनलाई याद दिलाउँछौं, त्यहाँ के भएको थियो, कसरी अन्त्य भएको थियो भनेर ।’

    एर्दोआनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको तुलना जर्मनीका पूर्व क्रुर शासक एडोल्फ हिटलरसँग गरेका छन् । उनको यो भाषण टीभीमा पनि प्रसारित भएको थियो । समाचार एजेन्सी रोयटर्सले यसबारे पार्टी प्रतिनिधिसँग जवाफ माग्दा कुनै प्रतिक्रिया दिइएन ।

    द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार, एर्दोआनले नेतन्याहूलाई हिटलरसँग तुलना गरे । उनले भने, ‘जसरी जनसंहारकर्ता हिटलरको अन्त्य भयो, त्यस्तै नरसंहार गर्ने नेतन्याहूको अन्त्य हुने छ ।’

    प्यालेस्टाइनी बस्ने गाजाक्षेत्रमा इजरायलले गरेका क्रुर आक्रमणले विश्वका धेरै देश इजरायलसँग रुष्ट छन् । यही मुद्दामा लेबनानबाट हिजबुल्ला र यमनबाट हुथी विद्रोहीले पनि इजरायललाई निशाना बनाइरहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation