एनपिएलमा कर्णाली याक्सबाट पहिलो पटक मैदानमा उत्रिँदै शिखर धवन

1.07K
shares

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा भारतीय क्रिकेटर शिखर धवन पहिलो खेल खेल्दैछन् ।

सोमबार हुने दोस्रो खेलमा धवन जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सबाट एनपिएल खेल्न लागेका हुन् । हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा अनुबन्ध भएपछि एनपिएल खेल्न धवन मङ्सिर १४ गते नेपाल आएका थिए ।

३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् ।

सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।

उनी सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जित्दा भारतीय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य थिए ।

धवनको खेल हेर्न समर्थकहरु उत्साहित छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्समा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् ।

त्यस्तै, भारतीय क्रिकेटर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद पनि कर्णालीबाटै एनपीएल खेल्दैछन् ।

यता, एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वाससहित मैदानमा उत्रिदैँ छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख मार्की खेलाडी र राष्ट्रिय क्रिकेट टोलीकै अर्का विकेटकिपर अनिल शाह कप्तान रहेको जनकपुर दोस्रो जितको खोजीमा हुनेछ ।

उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।