कन्स्ट्रक्सन कम्पनीले जग्गा खाली नगरेपछि कम्पनीको सामान जफत

1K
shares

काठमाडौं । भ्याली कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार जग्गाको बक्यौता नबुझाएको भन्दै कम्पनीको सामान जफत गरिएको छ ।

मङ्गलवार ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल महर्जनले कन्स्ट्रक्सन प्रालिले म्याद दिए पनि बेवास्ता गरेर वडाको जग्गामा बसेको भन्दै सामान जफत गर्न लागेको बताए ।

उनले भने, ‘भ्याली कन्स्ट्रक्सनको नाममा भाडामा वडाको जग्गामा भाडामा लगाइएको थियो । सर्वोच्चमा मुद्दा परिसकेपछि परमादेश आदेश जारी भयो । बच्चाहरू खेल्ने ठाउँ बच्चाहरूकै लागि नै हुनुपर्छ भन्ने कुरा आयो । हामीले उहाँहरूलाई ३५ दिने म्याद दियौँ, म्याद दिँदा पनि सम्पर्कमा नआउनु भए पनि वडाले फेरि १५ दिने सूचना दियो । त्यो सूचनापछि पनि नआएपछि उहाँहरुले सबै ताल्चा फुटाएर यहाँ भएको सामान सुरक्षित साथ राखेका हौँ । कम्पनी लिन आउने बेला पैसा तिरेर सामान लिएर जाने हो । लिन आउनु भएन भने यही सामानबाट असुलउपर गर्छौँ ।’

यस्तै, उनले उक्त कम्पनीले झन्डै साढे तीन करोड बक्यौता दिन बाँकी रहेको पनि बताए । उक्त भाडामा दिएको जग्गालाई सर्वोच्च अदालतले खुल्ला क्षेत्र नै राख्नुपर्छ भनेर आदेश दिए पनि कम्पनीलाई जग्गा खाली गर्न म्याद दिइएको थियो ।