सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल

1.01K
shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरू भइरहेको बताएका छन् ।

मंगलवार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रममा उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरू मार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने, ‘मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरू भइरहेका छन् । सरकारले दिगो विकासको लक्ष्य २०१५, २०३० ले परिकल्पना गरेको कोही पनि पछाडि नपरोस् भन्ने मूल मर्मका साथ जनता, पृथ्वी, शान्ति र साझेदारी समृद्धिको लागि समान न्यायपूर्ण एवं सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरू मार्फत सम्बोधन गरी तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको छ ।’

यस्तै, उनले आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै लाने पनि बताए ।

उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने कुरा सरकारले गम्भीरताका साथ लिएको छ । आयोगको भवन निर्माण कार्य ढिलाइ भएको छ । आगामी वर्ष यसलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै लगिने छ ।’

उनले स्वतन्त्रता, समानता र मर्यादित जीवनको लागि मानवीय जीवनका आयामहरूको बृहत् र सूक्ष्म अध्ययन आवश्यक भएको भन्दै त्यसको लागि मानव अधिकार आयोगमैत्री विकासको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले आयोगको सशक्तीकरणका लागि यसको भूमिका प्रभावकारी बनाउनका लागि नेपाल सरकार सधैँ साथमा छ र साथ रहिरहने छ भन्ने विश्वास पनि दिलाएका छन् ।