एनपीएल विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने

1.82K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टिम बिहीबार जनकपुरधाम जाने भएको छ ।

जनकपुर बोल्ट्स टिम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रबार रजौलस्थित राम जानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगर परिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्ड)ले जानकारी दिए ।

उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगर परिक्रमा गराउने जनाएको छ ।

टिमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरू, उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले तयारी गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टिम बनेको छ । जनकपुर बोल्ट्सले शनिबार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टिमलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो ।